समाचार

एमालेमा यू–टर्न : भण्डारीको सदस्यतामा ओलीको मन फेरियो

४ जेठ, काठमाडौं । केपी शर्मा ओली ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी सदस्यता नवीकरण रोक्ने अघिल्लो निर्णयलाई ‘राजनीतिक परिस्थिति’ को उपज बताएका छन् ।

नेकपा एमाले को सचिवालय बैठकमा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न प्रस्ताव राख्दै संविधानले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य बन्न नरोकेको तर्क गरेका थिए । उनले राजनीतिक परिस्थितिका कारण यसअघि नवीकरण रोकिएको भए पनि अहिले प्रक्रिया पूरा भएकाले सदस्यता दिनुपर्ने बताएका थिए ।

एमाले स्रोतका अनुसार भण्डारीले पार्टीमा सक्रिय रहने प्रतिबद्धतासहित प्रक्रिया अनुसार निवेदन दिएपछि ओलीले सदस्यता नवीकरणको प्रस्ताव अघि सारेका हुन् । बैठकमा प्रस्तुत उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको बताइएको छ ।

गत वर्ष साउनको पहिलो साता एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसबेला पूर्वराष्ट्रपति संविधानको रक्षक, नेपाली सेनाको परमाधिपति तथा गणतन्त्रको प्रतीक भइसकेकाले सक्रिय दलगत राजनीतिमा फर्कन नमिल्ने तर्क गरिएको थियो ।

त्यो निर्णयप्रति एमालेभित्रकै केही पदाधिकारी र नेताहरूले असहमति जनाएका थिए । त्यतिबेला ओलीले प्रक्रिया अनुसार निवेदन नआएकाले नवीकरण सम्भव नभएको बताएका थिए ।

तर अहिले तिनै ओलीले प्रक्रिया पुगेको भन्दै सदस्यता नवीकरणको प्रस्ताव ल्याएका छन् । बैठकमा प्रस्तावमाथि कुनै फरक मत नआएको र भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।