५ जेठ , काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय तथा क्याम्पस परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । रिटमा उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
रिट निवेदन नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानून विभाग प्रमुख हृदय राज मिश्रले दायर गरेका हुन् । विपक्षीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई बनाइएको छ ।
रिटमा मन्त्रिपरिषद्को २०८२ वैशाख १३ गतेको “शासकीय सुधारका १०० कार्ययोजना” अन्तर्गत विश्वविद्यालय तथा क्याम्पसबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय संविधानविपरीत भएको जिकिर गरिएको छ। साथै शिक्षा मन्त्रालय र विश्वविद्यालय समन्वय समितिबाट जारी निर्देशनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने उद्देश्य राखेको आरोप लगाइएको छ ।
निवेदकहरूले नेपालको संविधानको धारा १७ र १८ अनुसार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, संघ–संस्था खोल्ने अधिकार तथा राजनीतिक सहभागिताको हक सुनिश्चित गरिएको उल्लेख गरेका छन् । विद्यार्थी संगठनमाथि मात्रै प्रतिबन्ध लगाइनु समानताको सिद्धान्तविपरीत भएको दाबी पनि रिटमा गरिएको छ ।
रिटमा त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली, नेपाली कांग्रेसको विधान तथा राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्थाले विद्यार्थी संगठनको वैधानिक अस्तित्वलाई मान्यता दिएको जिकिर गरिएको छ । साथै CCPR, UDHR र CRC लगायत अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी दस्तावेजहरूको समेत उल्लेख गरिएको छ ।
निवेदकहरूले सरकारका निर्णय, परिपत्र तथा निर्देशनहरू बदर गर्न, विद्यार्थी संगठनलाई पूर्ववत् रूपमा गतिविधि सञ्चालन गर्न दिन र भविष्यमा यस्ता प्रतिबन्धात्मक निर्णय नगर्न विपक्षीहरूको नाममा परमादेश जारी गर्न माग गरेका छन् ।





