काठमाडौं, १७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन असाधारण सुधार गरिएको दाबी गरेका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्य अन्त्य गर्ने गरी व्यवस्थागत सुधार गरिएको बताए। विनियोजन विधेयक संशोधन गरेर जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयनका काम अघि बढाउन सकिने व्यवस्था मिलाइएको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले विगतमा भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरूमा पूँजीगत बजेट खर्च अत्यन्त न्यून रहने गरेको उल्लेख गर्दै यसपटक खर्च क्षमता बढाउन सबै मन्त्रालयलाई सक्रिय बनाइएको बताए।
उनले आफू अर्थ मन्त्रालयमा आउँदा पूँजीगत खर्च करिब २० प्रतिशतको हाराहारीमा मात्र रहेको स्मरण गर्दै विनियोजित बजेट समयमै खर्च हुने वातावरण तयार पारिएको दाबी गरे।
सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ।





