राजनीति

रास्वपाकै सांसद आशिका तामाङ बालेनसंग असंतुष्ट हुंदै भन्छिन्ः नेपालले भारतको भूमी काहां-काहां मिच्यो ?

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको भुमि मिचेको भनेर दिएको अभिव्यक्तिमाथि रास्वपाकै सांसदले प्रश्न उठाएका छन् ।

रास्वपा सांसद आशिका तामाङले त्यसको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई अपिल गरेकी छन्।

आफ्नो फेसबुक मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले नेपालले भारतको भूमि कहाँ-कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिन अपिल गरेकी हुन्।

उनले लेखेकी छन्, “प्रधानमन्त्री ज्यु ले नेपाल ले भारत को भुमि कहाँ-कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैंभरि म लगायत हामी नेपालीहरु ले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियोे तर आज बाट हामि ले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरा मा हामी विश्वस्त छौं।”

प्रधानमन्त्री शाहले हालै संसदमा भारतले मात्र नभई नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएको बताएका थिए।

प्रधानमन्त्रीको सोही भनाइलाई लिएर तामाङले वास्तविक तथ्य बाहिर ल्याउन माग गरेकी हुन्।

यो अभिव्यक्तिले अहिले प्रधानमन्त्री बिवादमा तानिएका छन् ।