१९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। उनी जेठ २० र २१ गते काठमाडौंमा आयोजना हुने पार्टीको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
एमाले केन्द्रीय संगठन विभागको आयोजनामा हुने दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा नवीकरण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल र अभिमुखीकरण गरिनेछ।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, पार्टीका प्रदेशस्तरीय पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष तथा संगठन विभाग प्रमुखहरू, साथै जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।
एमालेले यो कार्यशालालाई पार्टीको संगठनलाई थप गतिशील र मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको जनाएको छ।





