२२ जेठ, काठमाण्डौँ । शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेता भ्लादिमिर पुटिनलाई लेखेको पत्रमा प्रत्यक्ष वार्ताको आह्वानलाई युरोपेली सङ्घ (इयू)ले समर्थन गरेको छ ।
“हामी राष्ट्रपति जेलेन्स्कीको प्रत्यक्ष वार्ताको आह्वान र युद्धविरामको आह्वानलाई पनि स्वागत गर्दछौँ । युक्रेन शान्ति चाहन्छ, युरोप शान्ति चाहन्छ भन्ने कुरा पत्रले व्यक्त गरेको छ,” इयूका प्रवक्ता अनिता हिपरले भने ।
–मस्कोसँग कुरा गर्ने समय–
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि गरेको अपिल सकारात्मक भएको भन्दै मस्कोसँग वार्ता पुनः सुरु गर्ने समय आएको बताएका छन् ।
“मलाई विश्वास छ, अब युद्धविराम र शान्ति योजना दुवै स्थापना गर्ने जिम्मेवारी युक्रेन र रूसको हो । यसमा युरोपेलीहरूले सहयोग गर्न सक्छन्,” मोन्टेनेग्रोमा इयू र बाल्कन नेताहरूको शिखर सम्मेलनका क्रममा म्याक्रोँले भने ।
जेलेन्स्कीले बिहीबार रुसी नेतालाई लेखेको एक दुर्लभ खुला पत्रमा भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।
म्याक्रोँले उक्त पत्रलाई ‘राम्रो पहल’ भनेका छन्। जर्मनीले पनि क्रेमलिन प्रमुखसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्कीको आह्वानलाई स्वागत गरेको छ ।
म्याक्रोँले भने, “मैले कसरी हामी युद्धविराम र शान्ति स्थापनाका लागि वार्ता पुनः स्थापना गर्न सक्छौँ भनेर छलफल गर्न आवश्यक छ । मलाई लाग्छ अब यो समय आएको छ । स्थिति कसरी विकसित हुन्छ हामी पर्खने छौँ ।”
युक्रेनको विषयमा रुससँग पुनः वार्ता गर्ने विषयमा युरोपमा बहस सुरु भएको छ ।
म्याक्रोँले भने, “हामी हाम्रा साझा चासोका मामिलामा रुससँग छलफल र आदानप्रदानको संरचना गर्न पनि उत्सुक छौँ ।”
उनले भने, “यसको मतलब हाम्रो आफ्नै सुरक्षा र छिमेकीको रूपमा युक्रेनको हितको रक्षा गर्न तत्पर छौँ भन्ने हो ।”
म्याक्रोँले आगामी दिनमा जेलेन्स्कीलाई भेट्ने र जुलाई १४ मा राष्ट्रिय बिदाका लागि पेरिसमा कुनै पनि युद्धविराम सम्झौता गर्न ‘इच्छुकहरूको गठबन्धन’ मा संलग्न पश्चिमी देशहरूलाई आमन्त्रित गरेको पनि बताए।





