२२ जेठ, काठमाण्डौँ । रूस र चीनबाट उत्पन्न सुरक्षा तथा आर्थिक चुनौतीबीच युरोपेली सङ्घ (इयु) को विस्तार प्रक्रियालाई तीव्र बनाउने विषयमा केन्द्रित उच्चस्तरीय शिखर सम्मेलन शुक्रबार मोन्टेनेग्रोको तटीय सहर टिभाटमा सुरु भएको छ । पश्चिमी बाल्कनलाई युरोपेली संरचनामा छिटो समावेश गर्ने रणनीतिक आवश्यकताका रूपमा यस बैठकलाई हेरिएको छ ।
शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी लगायत युरोपेली नेताहरू तथा पश्चिमी बाल्कनका इयु उम्मेदवार देशका प्रमुखहरू सहभागी छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको पनि सहभागिता रहेको छ । बैठकको अध्यक्षता युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरेका छन् ।
कार्यक्रमको मुख्य एजेन्डामा मोन्टेनेग्रोको इयु सदस्यता प्रक्रिया रहेको छ । एक समय पूर्व युगोस्लाभियाको हिस्सा रहेको मोन्टेनेग्रोले पछिल्ला वर्षहरूमा संस्थागत सुधार र सुरक्षा गठबन्धनतर्फ महत्त्वपूर्ण कदम चालेको छ । सन् २०१७ मा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा प्रवेश गरेपछि यो देश २०२८ सम्म इयुको २८औँ सदस्य बन्ने लक्ष्यमा अघि बढिरहेको छ ।
लगभग छ लाख,२३ हजार जनसङ्ख्या भएको मोन्टेनेग्रोले ‘२८ बाइ २८’ भन्ने नारासहित इयु सदस्यता अभियानलाई अघि बढाइरहेको छ । इयुले यसका लागि प्रारम्भिक प्रवेश सन्धिको मस्यौदा तयार गर्न कार्य समूह गठन गरिसकेको छ, जसलाई सदस्यता नजिक पुगेको सङ्केतका रूपमा लिइएको छ ।
पश्चिमी बाल्कनका अन्य देशहरू—अल्बानिया, बोस्निया–हर्जगोभिना, सर्बिया, कोसोभो र उत्तरी म्यासेडोनिया—पनि इयु उम्मेदवारको विभिन्न चरणमा छन् । सबै देशले ३५ वटा नीतिगत अध्यायमा कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने व्यवस्था छ, जसमा प्रत्येक चरण खोल्न र बन्द गर्न सबै २७ इयु सदस्यको सहमति आवश्यक पर्छ ।
यसैबीच युक्रेन र मोल्दोभा पनि इयुमा प्रवेश गर्न चाहने देशहरूको सूचीमा छन् भने आइसल्यान्डले सम्भावित सदस्यता आवेदनबारे अगस्टमा जनमतसङ्ग्रह गर्ने तयारी गरेको छ ।
युरोपमा युक्रेन युद्ध, मध्यपूर्वको तनाव र रुससँगको भू–राजनीतिक प्रतिस्पर्धाबीच सुरक्षा चासो बढिरहेका बेला इयु नेताहरूले विस्तारलाई केवल राजनीतिक नभई रणनीतिक आवश्यकता भएको रूपमा व्याख्या गरेका छन् । कोस्टाले हालैको भ्रमणका क्रममा विस्तारलाई ‘युरोपको भविष्यका लागि अनिवार्य भू–रणनीतिक आवश्यकता’ बताएका थिए।
विश्लेषकहरूका अनुसार मोन्टेनेग्रोको प्रगति अन्य उम्मेदवार देशभन्दा अगाडि रहेकाले सन् २०२८ सम्म सदस्यता सम्भावना अझ मजबुत देखिएको छ । तर इयुले सदस्यता पछि नियम उल्लङ्घन हुन नदिन नयाँ सुरक्षा तथा निगरानी संयन्त्र पनि ल्याउने तयारी गरेको छ ।
यसैबीच, हङ्गेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओर्बनको अप्रत्याशित पराजयपछि इयु नेतृत्वभित्र लोकतान्त्रिक मापदण्ड र कानूनी शासनप्रति कडाइ गर्ने नीति अझ मजबुत हुने अपेक्षा गरिएको छ । विगतमा केही सदस्य देशमा देखिएको लोकतान्त्रिक विचलन र भिटो प्रयोगको अनुभवले नयाँ सदस्यहरूलाई प्रवेशअघि नै कडाइका साथ सुधार गर्न दबाब बढाएको छ ।
इयुले अब आउने देशहरूलाई सदस्यता दिनु अघि सुधार पूरा गराउने मात्र नभई सदस्य बनेपछि पनि उत्तरदायित्व कायम राख्ने नयाँ संरचना निर्माणतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।





