३० जेठ, काभ्रेपलाञ्चोक । काभ्रेमा शुक्रबार भएको बस दुर्घटनाको घटनाबारे सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निर्देशनमा गठन गरिएको समितिको संयोजकमा नेपाल प्रहरी प्रदेश कार्यालय, पनौतीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापालाई तोकिएको छ।
समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार, महाभारतका प्रहरी हबल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटी सदस्य–सचिव रहेका छन्।
समितिलाई सात दिनभित्र दुर्घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्यसहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।





