३० जेठ, काठमाडौं । चीन र पाकिस्तानबाट एकैसाथ उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भारतले आफ्नो सैन्य संरचनामा ऐतिहासिक परिवर्तन गर्ने तयारी गरेको छ। यसअन्तर्गत स्थल सेना, वायुसेना र नौसेनालाई एउटै नेतृत्वअन्तर्गत सञ्चालन गर्ने ‘एकीकृत थिएटर कमान्ड’ प्रणाली लागू गर्ने योजना अन्तिम चरणमा पुगेको छ।
रक्षामन्त्री राजनाथ सिंहसमक्ष प्रस्तुत भइसकेको यो प्रस्ताव अहिले रक्षा मन्त्रालय र सुरक्षासम्बन्धी क्याबिनेट समितिको स्वीकृतिको पर्खाइमा छ। योजना कार्यान्वयन भए हाल सञ्चालनमा रहेका १७ वटा छुट्टाछुट्टै सैन्य कमान्डको स्थानमा चीन, पाकिस्तान र हिन्द महासागर क्षेत्रलाई केन्द्रमा राखेर तीन संयुक्त कमान्ड स्थापना गरिनेछ।
प्रस्तावअनुसार चीन केन्द्रित उत्तरी थिएटर कमान्डको मुख्यालय लखनऊ, पाकिस्तान केन्द्रित पश्चिमी थिएटर कमान्डको मुख्यालय जयपुर तथा हिन्द महासागर क्षेत्र हेर्ने सामुद्रिक थिएटर कमान्डको मुख्यालय तिरुवनन्तपुरममा रहनेछ।
रक्षा विश्लेषकहरूका अनुसार भारतले यो पुनर्संरचनालाई हालै चीन र पाकिस्तानबीच देखिएको रणनीतिक समन्वय तथा भविष्यमा दुई मोर्चाबाट एकैसाथ आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अघि बढाएको हो। साथै, संयुक्त अपरेसन सेन्टर र ड्रोन युद्ध केन्द्र स्थापना गर्ने तयारीसमेत भइरहेको छ, जसले तीनवटै सेनाबीच समन्वय, सूचना आदान–प्रदान र आधुनिक युद्ध क्षमता सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, प्रस्तावित संरचनाप्रति भारतीय वायुसेनाले भने चिन्ता व्यक्त गरेको छ। सीमित वायुसेनाका साधन विभिन्न क्षेत्रीय कमान्डमा विभाजन हुँदा ती स्रोतको प्रभावकारी परिचालन प्रभावित हुन सक्ने वायुसेनाको तर्क छ। विश्लेषकहरूका अनुसार भारतले ऐतिहासिक सैन्य सुधारको दिशामा ठूलो कदम चाल्न खोजे पनि त्यसको सफल कार्यान्वयनका लागि तीनवटै सेनाबीच प्रभावकारी समन्वय कायम गर्नु सबैभन्दा ठूलो चुनौती हुनेछ।
(एससीएमपीबाट)





