ब्रेकिङ न्युज

कस्को आदेशमा फुकुवा भए मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय गाडी  ?

२ असार, मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ ।

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए ।

ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ ।

कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो ।


कोरलानाकाबाट ती सबै विद्युतीय सवारीसाधनलाई साइमन ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो ।

ती सवारीसाधनको कैफियत रहे–नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो ।

सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए।