२ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन कडा निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थाले सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेको पाइएकाले ७ दिनभित्र स्थान खाली गर्न भनिएको छ।
यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायलाई पनि त्यस्ता संघ–संस्थाका बोर्ड, साइनबोर्ड तथा अन्य संरचना हटाई ओगटिएको स्थान तत्काल खाली गराउन निर्देशन दिइएको छ।
प्रशासनले चेतावनी दिँदै सूचनाको अवज्ञा गरी सरकारी संरचनामा कार्यालय सञ्चालन गरेको भेटिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरेको छ। सरकारी सम्पत्तिको दुरुपयोग रोक्न प्रशासनले थालेको यो कदमले विभिन्न संघ–संस्थामा तरंग सिर्जना गरेको छ।





