ब्रेकिङ न्युज

मनसुनको जोखिममा सरकार ‘हाई अलर्ट’: ‘डिजास्टरलाई यसपालि जवाफ दिन्छौं’ – गृहमन्त्री

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद्लाई प्रभावकारी रूपमा सामना गर्न सरकारले व्यापक पूर्वतयारी पूरा गरेको बताएका छन्। विगतका प्राकृतिक प्रकोपबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यसपटक नागरिकको ज्यान जोगाउन र क्षति न्यूनीकरण गर्न सबै संयन्त्र परिचालन गरिने उनले स्पष्ट पारे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा नागरिकको सुरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको बताए। आवश्यक परे हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन तत्काल परिचालन गरिने उनको भनाइ छ।

उनका अनुसार बाढी वा पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल नजिकको डोजर र उपकरण परिचालन गर्न सकिने विशेष डिजिटल एप विकास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा तयार गरिएको उक्त प्रणालीले उपकरणको वास्तविक स्थान देखाउने भएकाले सडक खुलाउने काम छिटो हुने विश्वास सरकारको छ।

गृहमन्त्री गुरुङले अघिल्ला सरकारले थालेका प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको पनि बताए। विपद् व्यवस्थापनमा राजनीतिक पूर्वाग्रहभन्दा नागरिकको सुरक्षालाई केन्द्रमा राखेर काम गरिने उनको भनाइ थियो।

उनले विगतका प्राकृतिक प्रकोपले नागरिकलाई दिएको पीडाको स्मरण गर्दै यसपटक सरकार अझ आक्रामक तयारीका साथ अघि बढेको बताए। “प्रकोपले हामीलाई धेरै दुःख दिएको छ, त्यसैले यसपालि डिजास्टरसँग प्रतिशोध साँधेर आएको छु,” भन्दै उनले विपद् व्यवस्थापनमा छिटो, प्रभावकारी र परिणाममुखी प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्रीले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको जानकारी दिँदै मनसुनका बेला कुनै पनि आपत्कालीन अवस्थाको सामना गर्न सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको दाबी गरे।