ब्रेकिङ न्युज

अख्तियारको म्यादपछि आरजुको इमेल, “उपचारमा छु, अहिले उपस्थित हुन सक्दिनँ”

४ असार, काठमाडौं । इ-पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले विदेशबाट इमेलमार्फत जवाफ पठाएकी छन्।

अख्तियार स्रोतका अनुसार आरजुको नामबाट आयोगको आधिकारिक इमेलमा आएको सन्देशमा उनी हाल उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ। साथै उपचारपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

यसअघि अख्तियारले बूढानीलकण्ठस्थित निवासमा बाटोको म्यादबाहेक तीन दिनभित्र उपस्थित हुनुपर्ने सूचना तामेल गरेको थियो।

अनुसन्धानका क्रममा प्राप्त कागजातमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको कुनै लिखित निर्देशन वा औपचारिक निर्णय फेला नपरेको अख्तियार स्रोतको भनाइ छ। तर ठेक्का प्रक्रियाको डिजाइन, प्याकेज निर्माण तथा ठेकेदारबीच समन्वय गराउने काममा आरजु र उनका छोरा जयवीर देउवा संलग्न रहेको भन्दै विभिन्न उजुरी परेकाले अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ।

अख्तियारले राहदानी विभागबाट इ-पासपोर्ट खरिद अघि जयवीर देउवा, तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा तथा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालबीच पटक–पटक भेटघाट भएको सूचनामाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच आयोगमा दर्ता भएका उजुरी र पुनरावलोकनपत्रमा टेन्डरको प्राविधिक मूल्यांकनमै प्रक्रिया मिचिएको दाबी गरिएको छ। टेन्डर कागजातमा ब्लेड सर्भर अनिवार्य भनिए पनि छनोट भएका कम्पनीले र्‍याक सर्भर प्रस्ताव गर्दा त्यसलाई स्वीकार गरिएको आरोप अनुसन्धानको विषय बनेको छ।

अख्तियारले राहदानी खरिद प्रकरणमा सम्बन्धित अधिकारी, प्राविधिक पक्ष तथा निर्णय प्रक्रियामा जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान जारी राखेको जनाएको छ।