स्वास्थ्य

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

५ असार, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए।

स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक योग गर्नुपर्ने धारणा राखे। “स्वास्थ्य महत्वपुर्ण विषय हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ छ । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निरोगी रहन नियमित योगाभ्यास आवश्यक रहेको उल्लेख गर्दै योगाभ्यासको शिक्षालाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिए। पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरीलगायतको उपस्थिति थियो ।