७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्ना आन्तरिक समस्या समयमै समाधान गर्न सुझाव दिएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका प्रमुख राजनीतिक दलहरू बलियो र व्यवस्थित हुनु आवश्यक रहेको बताए। विशेषगरी कांग्रेस र एमालेभित्र देखिएका आन्तरिक समस्या केवल ती दलको मात्र विषय नभई देशको समग्र राजनीतिक स्थिरतासँग समेत जोडिएको उनको भनाइ थियो।
लामिछानेले, “सबै दल ठीक हुनुपर्छ। कांग्रेस र एमालेजस्ता ठूला दलभित्र देखिएका अप्ठेराहरू समयमै समाधान भएनन् भने त्यसको असर देशमै पर्न सक्छ,” भन्दै ती दललाई आफ्नै घरभित्रको विवाद मिलाउन शुभकामना व्यक्त गरे।
उनले आफ्नो दल मात्र नभई सबै राजनीतिक दल सुदृढ र जिम्मेवार बने देश सही दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरे।




