ब्रेकिङ न्युज

रास्वपा महाधिवेशनको आज बन्द सत्र : यस्तो छ कार्यतालिका

८ असार, काठमाडौं । चितवनको भरतपुरमा आइतबारदेखि सुरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्रका कार्यक्रमहरू सञ्चालन हुँदैछन्।

आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ।

बिहान ७ बजेको खाजापछि ८:३० बजे पार्टी सभापतिले दोस्रो सत्रको प्रारम्भ गर्ने कार्यक्रम छ। त्यसलगत्तै ८:३० देखि ८:५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ।

बिहान ९ बजेदेखि ९:३० सम्म कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका तय भएको छ। आर्थिक प्रतिवेदनमाथिको छलफल सकिएपछि आधा घण्टाको चिया ब्रेक हुनेछ।

चिया ब्रेकपछि बिहान १० बजेबाट पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

उक्त प्रतिवेदनमाथि करिब ४५ मिनेट छलफल हुनेछ। लगत्तै १०स्४५ देखि ११:४५ सम्म पार्टी सहमहामन्त्रीको अगुवाइमा पार्टीको ‘विधान’ माथि छलफल तथा पास गर्ने कार्यतालिका छ।

विधान पारित भएपछि बिहान ११:४५ बजे पार्टी सभापतिद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। एक घण्टाको छलफलपछि उक्त राजनीतिक प्रतिवेदन पनि आजै पास गर्ने रास्वपाको तयारी छ।

राजनीतिक प्रतिवेदन पास भएलगत्तै दिउँसो १२:४५ बजे अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ।

सोही समयमा पार्टी सभापतिले आयोजक समितिका तर्फबाट सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछन्। दिउँसो १ बजेदेखि २:३० सम्म खानाको समय छुट्याइएको छ। खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ।