२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले मुलुकको बाह्य क्षेत्र उल्लेख्य रूपमा बलियो बनेको देखाएको छ। रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा ऐतिहासिक सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रका सूचक भने अपेक्षाअनुसार सुदृढ हुन सकेका छैनन्।
चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ भने रेमिट्यान्स २१ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ। त्यस्तै, शोधनान्तर बचत ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।
यता आन्तरिकतर्फ भने अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। महँगी बढेको, बैंकहरूको कर्जा विस्तार सुस्त भएको, लगानी र उत्पादन कमजोर रहेको तथा रोजगारी र राजस्व संकलनमा समेत उल्लेख्य सुधार नदेखिएको राष्ट्र बैंकको प्रतिवेदनले औँल्याएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रमा कर्जाको माग कमजोर देखिएको छ। साथै, पर्यटकबाट हुने आम्दानीमा पनि सामान्य गिरावट आएको प्रतिवेदनमा उल्लेख छ।





