काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाको उपयोग गर्न नजानेर नेपाली गरिब भएको बताएका छन् । गत बुधबारदेखि राजधानीमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले सरकारले उद्यम गर्न चाहनेलाई अवसर सिर्जना गरेको तर त्यसको सदुपयोग जनताले गर्न नसकेको दाबी गरे ।
प्रायश: सम्पूर्ण स्थानीय तहमा बैंक पुग्न थालेको तर स्थानीय नागरिकले त्यसको समूचित उपयोग गर्न नजानेको नेपालको तर्क छ । आर्थिक उपयोगिताबारे ज्ञान नभएकै कारण वर्षेनि हजारौं युवा खाडी जान बाध्य भएको उनको भनाइ छ ।
‘हाम्रो सरकारले युवालाई अवसर नै अवसर दिएको छ । तर, यसको ख्याल नगरी हाम्रा युवा अरुको देश विकासमा आफ्नो पसिना बगाउँदैन्,’ उनले भने ।
उनले एक प्रसंग उल्लेख गर्दै नाकान्दीले कतार आत्मनिर्भर भएको र मरूभूमिको देशसमेत दूध निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गराए । ‘यदि अब पनि युवा मुलुकको विकासमा नलाग्ने हो भने, आगामी पुस्ताले हामीलाई सराप्नेछ,’ उनले भने । नेपालमा सम्भावना हुँदाहुँदै पनि युवा जनशक्ति विदेशिनु दुर्भाग्य भएको उनले बताए ।





