पर्सा । तराईको जिल्ला पर्साामा एकै रातमा ११ स्थानमा श्रृंखलाबद्ध रुपमा आगालागि भएको छ । पर्सााको पोखरिया नगरपालिकामा वडा नम्बर ४ र ५ मा सोमबार राति ११ ठाउँमा आगलागी भएको छ । साढे ९ बजेतिरदेखि शुरु भएको आगो श्रृंखलाबद्ध रुपमा ११ ठाउँमा फैलिएको थियो ।
पोखरिया नगरपालिकाको वडा नम्बर ५ सतबरियामा परालको कुन्यूबाट शुरु भएको आगो आज मंगलबार बिहान राती १ बजे सम्म लागेको थियो । वडानम्बर ५ बाट सुरु भएको आगो अन्तिममा पोखरिया वडा नम्बर ४ पोखरिया बजार क्षेत्रसम्ममा फैलिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले बताए ।
मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन् । मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।
उनले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताए । आगजनीबाट कुनै मानवीय क्षति नभएको र आगजनीमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
९ बजेर १५ मिनेटमा पोखरिया ५ को सतबरियाका प्रेम रामको परालमा पहिले आगो देखा परेको थियो । त्यो निभाउँन दमकलसहितका मानिस पुग्दा अलि पर जमुना साह तेलीको परालमा नै आगो देखियो । त्यो निभाउँदा विनोद बाबाको झुपडी, हुँदै पोखरिया ४ को चोकट राउत डोमको झुपडी, प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरसम्म आगो पुग्यो । आगो जताजता देखियो उतै निभाउँदै गयौं उनले भने।
एकै रातमा शृंखलाबद्ध रुपमा अलग–अलग ठाउँमा लागेको आगोलाई पोखरिया र वीरगन्ज महानगरपालिकाबाट गएका दमकल र स्थानीय, प्रहरी, प्रशासनले राती १ बजेतिर नियन्त्रणमा लिएको नगरप्रमुख रौनियारले बताए । आगो लाग्नु पूर्व कतै गुनगुन मानिसको आवाज र कतै तिब्र गतिमा मोटरसाइकल चलेको भन्ने स्थानीयको कुराले आगो लाग्नुको पछाडि कसैको हात हुनसक्ने अनुमान गरिएको नगरप्रमुख रौनियारले बताए ।
आगोले प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरमा बढि क्षति पुर्याएको छ । रातको समय भएकोले विभिन्न ठाउँमा लगातार आगो लागेकोले राति आगोलाई नियन्त्रणमा लिने काममात्र भएकोले क्षतिको विवरण अहिले संकलन हुँदै गरेको पर्सा प्रहरीले जनाएको छ ।
११ ठाउँमध्ये चारपाँच ठाउँमा परालको कुन्यूमा र बाँकी ठाउँमा दिउसो मानिस बस्न सुत्न बनाएका झुपडी, केही घर र घुम्ती पसलमा लागेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । एकै रातमा विभिन्न ठाउँमा लगातार कसरी आगो लाग्यो भन्ने सन्दर्भमा अनुसन्धान शुुरु भएको उनको भनाइ छ ।




