समाचार

नेता पौडेलले बुल्दी खोलाको पुल उद्घाटन गर्नु त्रुटिपूर्णः नेकपा

१९ मङ्सिर, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यासनगरपालिका–१ तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गरेका थिए ।

नेकपा तनहुँद्वारा आज आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रुटिपूर्ण तवरले गरिएको बताएका ह। उनहरुले निर्वाचित सांसदहरुलाई कुनै सम्पर्क तथा समन्वय नगरेको बताएका छन् । पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उनहरुको आरोप छ ।

प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण बताए। वैधानिक क्षेत्राधिकार मिचिएर गरिएको कार्यप्रति विरोध जनाउँदै उनले विपक्षी पार्टीलाई समेत सरिक गराएर पाँच वर्ष विकास निर्माणको नेतृत्व नेकपाले लिने उल्लेख गरे ।

प्रतिनिधिसभाका सांसदहरु सिग्देल, कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रियसभाका सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्यहरु किरण गुरुङ, हरिबहादुर चुमान, आशा कोइराला, रामबहादुर गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सम्मानित राष्ट्रिय व्यक्तिले गलत प्रक्रियाबाट काम गर्न नहुने उल्लेख गरिएको छ । सम्बन्धित कार्यालयले हाल उद्घाटन गर्न मनासिव नदेखिएको भन्दै पत्रचार गर्दा पनि पार्टी कार्यक्रम जस्तो गरी उद्घाटन गर्न गरिएको सांसद श्रेष्ठ किसानले बताए ।

काँग्रेस वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो १ बजे पुल उद्घाटन गर्ने भनेपछि नेकपा सर्मथित राष्ट्रिय युवा सङ्घ नेपालले अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । झडपको अवस्था सिर्जना हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।