६ पुस, महोत्तरी । उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहेका छन् ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गरेको उनले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खाएका छैनन् । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आएका उनका जग्गामा अहिले आलु, भण्टा, खोर्सानी र लौका तरकारीबाली छन् ।
खेती गर्न थालिकन धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आइपुगेको उनको अनुभव छ । अब पछिल्ला केही वर्षयता तरकारीखेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने किसान यादवमा चिन्ता बढेको छ । उनका अनुसार केही वर्षयता तरकारीबालीमा अत्यधिक कीराको प्रकोप बढेको र विषादीले पनि कीरा चिन्न छाडेको छ ।
“कोबिको बोट हेर्नोस्, कति थरिका औषधि विषादी छरिसके, केही टेरेको छैन” उनले प्रश्न गरे,“सल्लाह दिने कोही कृषि प्राविधिक पनि भेटिदैनन्, के गर्ने होला ” विषादी प्रयोग नगरी खेती हुनसक्दैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “विषदी बिना त कोबिखेती गर्छु भनेर नसोचे हुन्छ ।”
मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा कीरा र रोगको प्रकोप हुने गरेको उनको अनुभव छ । “म यहीं हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन् अहिले त यी थरिथरिका कीरा र रोगले हैरान नै पारेका छन् ।” पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एक पटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झदै उनले आजभोलि भने कैयनथरिका झार उम्रने र त्यसलाई मास्न औषधि नै प्रयोग गर्ने गरेको बताए।
उनले पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्नबाली लगाउँथे । उनले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले समयमै अगाबै पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्तीखेती, उखुखेतीमा आकर्षित भए । अहिले नगद आर्जनका लागि आपूm तरकारीखेतीमा लागेको उनको भनाइ छ । “हेर्नोस्न, असार– १५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपाहार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि” विन्देश्वरले आपूm २०÷२२ वर्षको हुँदाका कुरा सम्झदै भने, “बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगव्याधि पनि लाग्दैनथ्यो, रामै्र अन्न भित्रिन्थ्यो ।”
पछिल्ला १५÷२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्षेनी रिङ सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम हाल्नु परी रहेको उनको थप चिन्ता छ । यसको ठ््याक्कै कारण थाहा नभए पनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीमा बालु ढुङ्गा निकाल्न ठूलाठूला मेसिन उत्खननमा प्रयोग गरिने यान्त्रिक उपकरण० चल्न थालेपछि यस्तो भएको हुनसक्ने उनको अनुमान छ ।
“हाम्रो खेतबारीमा कुलो ल्याइएका नदीमा साउन भदौमै कमिला हिँड्छन्, कहिले भने यसअघि कहिल्यै नव्यहोरिएको बाढी आएर खेतबारी काटेर बगर बनाउँछ” उनले भने, “बाबुबाजेले सुनाउनु भएका पुराना खेतीपातीका कुरा मेल खान छाडे” उहाँले दिक्दारिदै अगाडि भन्नुभयो, “खै अझै के के देख्न बाँकी छ कोनी रु” पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु निल गाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उनको थप गुनासो छ । विन्देश्वरजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो , रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारीखेती गर्छन् । उमेरले ५० वर्ष नाघीसकेका उनीहरु सबैको चिन्ता पनि विन्देश्वरको जस्तै छ । छिमेकको भङ्गाह–४ का ६० वर्षीय सत्यनारायण यादव, ५५ वर्षीय रामजी यादव , ५२ वर्षीय चन्देश्वर यादव र ६५ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा वर्सेनी खेती बद्ल्नु परेको बताउछन् ।
जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलवाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सगालेका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउछन् । जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको उनको भनाइ छ ।
यसरी मौसममा परेको प्रभावअनुसार आपूmलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको उनी बताउछन् । “जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधनस्रोतको अभावमा यसबाट बढी प्रभावित छन्” उनले भने,“गरिब किसानसम्म अब राज्यले यस अनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रासायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न उनी आवश्यक ठान्छन् ।





