९ माघ, काठमाडौं । संसद बिघटनका बिरुद्धमा दाहाल-नेपाल समुहको बृहत प्रर्दशन सुरु भएको छ । काठमाडौंका बिभिन्न ९ स्थानबाट निकालीएको र्यालीका कारण बिभिन्न स्थानका सडकमा सवारी आवगमनमा समस्या उत्पन्न भएको छ ।

जसका कारण आम नागरिक तथा यात्रुले सास्ती खेप्नु परेको छ । रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ । भने सुन्धारा क्षेत्रको सडक पूर्ण रुपमा खाली गरिएको छ ।

कीर्तिपुरबाट आउने गाडी बल्खु नै डाइभर्ट गरिएको छ । यात्रुहरूले बल्खुबाट हिँडेर नै गन्तब्यमा जानुपर्ने बाध्यता देखिएको छ । यस्तै, माइतीघर क्षेत्रमा पनि ठूलो जाम रहेको छ ।

र्यालीलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थित देख्न सकिन्छ । देवेन्द्र पौडेलको नेतृत्वमा त्रिपुरेश्वरबाट प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नारा लगाइएको छ ।

यस्तै माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।




