६ जेठ, जनकपुर । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले पाँच हजार ५१४ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेका राधादेवी यादव पाँच हजार ७३० मत प्राप्त गरी विजयी भइन्। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत ल्याइन्। यस्तै सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।नगरपप्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरे। पूर्वनगरप्रमुख नेकपा (माओवादी केन्द्र)का हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा कांग्रेसका सङ्गीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरिन्।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता अझ बढदै गएको छ । स्वतन्त्र उम्मेदवार साहले छ हजार २९१ मतका साथ अग्रता बनाउँदा पूर्व नगरप्रमुखसमेत रहेका गठबन्धनमा उम्मेदवार लालकिशोर साहले एक हजार ५५६ मत ल्याएर पाँचौँ स्थानमा छन् । साहभन्दा अगाडि एमालेका शिवशङ्कर साह चार हजार १२३ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी दुई हजार ६४७ मत प्राप्त गरी तेस्रो र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो दुई हजार १५३ मतका साथ चौथो स्थानमा रहेका छन् ।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले छ हजार ९६६ मत प्राप्त गरी अग्रता कायम राखेका छन् भने एमालेका रुना झाले चार हजार ७०३ मतका साथ उनलाई पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।





