२३चैत्र, लहान । हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि पुनःसञ्चालन हुन नपाउँदै दुई पिलर भासिएको छ ।
भासिएको डेढ वर्ष बितिसक्दा पनि पुलको पुनःनिर्माण सुरु भएको छैन । तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गत फागुन १५ मा उक्त पुलको स्थलगत निरीक्षण गरेका थिए।
झण्डै दुई वर्षअघि भासिएको पुल निरीक्षण गर्न प्राविधिक टोलीसहित नदीमै पुगेका मन्त्री श्रेष्ठले सिरहा र धनुषावासीले नदीमा भोगिरहेको सास्ती देखे। उनले हुलाकी सडक आयोजनाका अधिकारी र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सन’ का पदाधिकारीलाई जीर्ण कमला पुलको पुनःनिर्माण तत्काल सुरु गर्न निर्देशन पनि दिए।
“जनताको सास्ती देखेर अत्यन्त दुःख लाग्यो । राज्यद्वारा जनतालाई हानि नोक्सानी पु¥याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हुँदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ”, मन्त्री श्रेष्ठले भनेका थिए। उनले सवारी साधन गुड्ने गरी ह्युमपाइप राखेर डाइभर्सन तयार गर्न पनि निर्देशन दिएका थिए।
मन्त्री श्रेष्ठको निर्देशनबमोजिम नदीमा ह्युमपाइप राखी डाइभर्सन भने बनाइयो तर ह्युमपाइप राख्दा माटो दिनुपर्ने ठाउँमा बालुवा राखेर बनाएको डाइभर्सन एकसाता पनि टिकेन, भत्कियो । डाइभर्सन भकिएपछि फेरि पनि जनता रु ५० भाडा तिरेर स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट आवतजावत गर्न थालेका थिए । तर दुई दिन अगाडि वर्षा नलाग्दै चैतमा आएको सामान्य वर्षाको बाढीले अस्थायी पुल पनि डुब्यो । अहिले डुङ्गामा सर्वसाधारणले रु एक सय भाडा तिरी मोटरसाइकलसहित जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
विद्यार्थी तथा बनिबुतो गर्न हिँडेका, विपन्न वर्गले पैसा अभावमा ज्यानको पर्वाह नगरी भासिएको पुल वा नदीबाटै आवतजावत गरिरहेका छन् । अहिले जीर्ण पुलको पुनःनिर्माणको काम सुरू त भयो, तर सुस्त गतिमा । आफूहरूले पुल पुनःनिर्माणको काम सुरु गरिसकेको र अबको एकदेखि डेढ वर्षभित्रमा सम्पन्न हुने बताउनुहुन्छ निर्माण कम्पनीका योजना प्रमुख सुदीप थापा । उनले भने, “माटो परीक्षणको काम सकिएको छ । अब द्रुत गतिमा काम अगाडि बढ्छ । भासिएको दुई वटा पिलरमध्ये वर्षा अगाडि नै एउटा पिलर सक्ने लक्ष्य रहेको छ ।”
बाह्र वर्ष अगाडि यस पुलको डिजाइन हुँदा नदीमा चार हजार पाँच सय क्युविक मिटर प्रतिसेकेन्डसम्म पानीको बहाव थाम्न सक्ने गरी डिजाइन पास गरिएको र अहिले वर्षा याममा ११ हजार क्युविक मिटर प्रतिसेकेन्ड भन्दा बढी पानीको बहाव हुने भएकाले फेरि पनि पुलको क्षति पुग्न सक्ने बताउनुहुन्छ पुल पुनः निर्माण कार्यमा खटिएका इञ्जिनियर सूर्यप्रकाश शर्मा । उनका अनुसार नदीमा पानीको बहाव बढी हुँदा कसरी पुललाई क्षति हुनबाट रोक्न सकिन्छ भनेर प्राविधिक अध्ययन पनि भइरहेको छ ।
चार सय ७० मिटर लामो पुल निर्माणका लागि विसं २०६८ मा रु २४ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा पुल निर्माण पूरा गर्नुपर्ने थियो । एघार वर्ष लगाएर तयार भएको पुल उद्घाटन नहुँदै भासिएको हो । हुलाकी सडकको मेरुदण्ड र मधेस प्रदेशको लाइफलाइनका रूपमा यो पुललाई लिने गरिन्छ ।





