प्रदेश 1

राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन मानेन : मुख्यमन्त्री थापा

४ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन नमानेको बताएका छन् । सोमबार कोशी प्रदेशसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

सत्ता सहकार्यको लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पटक-पटक वार्ता गर्दा पनि सहमति हुन नसकेको मुख्यमन्त्री थापाले बताए ।

उनले अघि भने, “गठबन्धनका शीर्ष नेता र राप्रपाका केन्द्रीय अध्यक्ष बालुवाटारमा, हाम्रो सभापति (शेरबहादुर देउवा)को घरमा पटक पटक छलफल गर्‍यौं, प्रदेशका नेताले भेटेर पनि आह्वान गर्‍यौं, प्रदेशलाई दुर्घटनाबाट जागाउने जिम्मा तपाईहरुको हातमा छ । सरकारमा बसेर हुन्छ कि, प्रतिपक्षमा बसेर हुन्छ कि । सरकार भन्दा बाहिर बसेर हुन्छ कि, सभामुखको नेतृत्व गरेर हुन्छ कि, मन्त्रीहरुको नेतृत्व गरेर हुन्छ कि, मुख्यमन्त्रीमा आलोपालो लिएर पनि कम्तीमा कोशीमा देखिएको समस्यालाई भोलिको सम्भावित दुर्घटना रोक्न तपाईहरुको भूमिका महत्वपूर्ण छ जिम्मेवारी लिइदिनुस् भन्दा सफल हुन सकेन ।’