१० भदौ, काठमाडौँ । छैटौँ विश्व संस्कृत दिवसको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ ।
छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको संयोजक प्रा डा माधवप्रसाद पाण्डेयले लाई जानकारी दिए । व्याकरण, न्याय, वेदान्त, साहित्य, ज्योतिष, साङ्ख्ययोग र पुराण इतिहास गरी सात विषयमा आचार्य (स्नातकोत्तर) गर्नुभएका आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेलले विसं २०५७ देखि २०६१ सम्म तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हालको नेपाल संस्कृत विश्वविद्यालय) को उपकुलपति भई संस्कृत क्षेत्रको सेवा गरेका थिए ।
नेपाल र भारतमा गरी एक सयभन्दा बढी शोधार्थीको अनुसन्धानमा शोधनिर्देशकको भूमिकामा रहेर संस्कृत विद्या साधनामा विशिष्ट योगदान गरेका आचार्य ढुङ्गेलको योगदानको उच्च मूल्याङ्कन गरी उक्त सम्मान गर्न लागिएको विश्व संस्कृत दिवसका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताए ।
छैटौँ विश्व संस्कृत दिवसको अवसरमा रू एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई प्रदान गर्ने निर्णय परिषद्ले गरेको छ ।
जरो किलो महाअभियानले संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तु बारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति प्रदान गर्दै आएको हो । गत वर्ष विशेष सम्मान प्रा डा दीर्घराज घिमिरे र आरुणि संस्कृत शोधवृत्ति उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
सम्मान र शोधवृत्ति मिति यही भदौ १४ गते आयोजना हुने छैटौँ विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिने पनि उनले बताए । प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि सुरु भएको हो ।





