समाचार

 चितवनमा पनि रविलाई ५४ लाख धरौटी

२४ माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

 साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधवार अदालत उपस्थित भए पनि उनको  थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो। 

लामिछानेविरुद्ध अन्य जिल्लाहरूमा सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगी कसुरमा मात्रै मुद्दा दायर भएको थियो ।

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

यस्तै, जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपीलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।