समाचार

वर्षमान जीसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आयो: एमालेका महासचिव पोखरेल

२७ माघ, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनौपचारिक कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

महासचिव पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गरी अध्यादेशमा सहयोग मागेको कुरा शनिवार पुनले  गुल्मी पुगेर सार्वजनिक गरेका थिए ।

 माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिवार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताएका थिए ।  महासचिव पोखरेलले अनौपचारिक कुराकानीलाई सहयोगको याचना भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।