२७ माघ, काठमाडौँ । गृहमन्त्री रमेश लेखक र ‘नो केबलकार समूह’बिच भोली वार्ता हुने भएको छ। पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि मन्त्रीस्तरिय वार्ता गर्ने निर्णय भएको एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका हुन्।
भोलि साँझ ६ बजे नेपाल गृहमन्त्री लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको हो।
सांसद भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिंदै लेखेका छन् ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नुभए अनुरूप मैले गृहमन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृहमन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।’
आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबिच आज तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरू मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । आन्दोलनरत ‘नो केबलकार समूह’ले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताएका थिए ।
आन्दोलनरत पक्ष र सरकारबिच माघ २५ गते ६ बुँदे सहमति भएपनि उक्त सहमतिलाई आज बस्ने भनिएको विस्तृत बैठकले अनुमोदन गर्ने निर्णय भएको थियो।




