समाचार

भ्रष्टाचार सम्बन्धी मुद्दा लामो समयदेखि किनारा नलागेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

२८ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरू लामो समयदेखि किनारा नलागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको तर्फ सम्बन्धित निकायले पु¥याउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले ठुला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको समेत ध्यानाकर्षण गराएका छन् । आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने उनको विश्वास थियो।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्कालाई सम्मान गरेका थिए । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भएकी थिइन। 

कार्यक्रममा राष्ट्रपति पौडेलद्वारा विभिन्न पत्रकार एवं लेखकहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।