३ फागुन,काठमाडौँ। सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहभागी भएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत नेताहरू बैठकमा सहभागी छन्।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रवार एमाले र काँग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।
शुक्रवार बालुवाटारमै बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे अनुसार आज ११ बजे सत्ता पक्षीय नेताहरूको बैठक बस्ने निर्णय भएको थियो।
हिजोको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने र उक्त कार्यदलले देशभरि संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।





