४ फागुन, काठमाडौँ । हिजो पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज भेट्ने भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति जान लागेका हुन्।
राष्ट्रपति पौडेल बिहान १० बजे अस्पताल जाने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।
अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा बेलुन फुटेर उनीहरू घाइते भएका हुन् । अर्थमन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको छ भने मेयर आचार्यको अनुहारको भाग जलेको छ।
उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।





