९ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको छ। यसअघि आगामी ५ चैतमा हुनेभनि घोषणा भएको चुनावका लागि समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको हो।
सूचनामा २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तोकिएको छ। सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन सम्बन्धी सबै काम सकेर अन्तिम नामावली प्रकाशित गर्ने कार्य तालिका रहेको छ।
सूचनामा २६ फागुनमा उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्य तालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । फागुन २७ मै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्य तालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।
फागुन २८ मा दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्य तालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।






