समाचार

विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइयो

१२ चैत, काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि समर्थनहरूले प्रदर्शन थालेका छन्। उक्त प्रदर्शनलाई लिएर नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

 मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट कुलमानलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएपछि विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था उच्च बनाइएको हो। 

बिहानैदेखि काठमाडौँमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका थिए। विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो टोली परिचालन गरिएको छ।

सरकारमै सहभागी दलका नेताहरूले पनि सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन्। माइतीघर, नयाँबानेस्वर क्षेत्रमा पनि उच्चनिगरानी राखिएको छ।