समाचार

फरार कैदी–हतियार फिर्ता ल्याउन विशेष अपरेशन सुरु

२२ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्। शनिबार काठमाडौंमा राष्ट्रिय वृहत आर्थिक बहस २.० मा सम्बोधन गर्दै उनले नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए।

अर्यालले भने, “सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्छ। यो अवस्था केवल सत्ता परिवर्तनको होइन, सुरक्षा संकटको पनि संकेत हो।” उनले जानकारी दिए कि अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० हतियार फिर्ता भइसकेको छ भने बाँकी केही अझै डढेको वा बाहिर छ। फरार १४ हजार ५४९ कैदीमध्ये ९ हजार ५२१ जना फिर्ता भइसकेका छन् र अझै पाँच हजार १०५ जना बाहिर रहेका छन्।

उनले नागरिकहरुलाई पटक–पटक अपिल गर्दै भने, “हतियार र कैदी फिर्ता दिन सहयोग गर्नुहोस्, नभए विशेष अपरेशन सञ्चालन हुनेछ।” गृहमन्त्री अर्यालले कानूनी राज्यको जगेर्ना आफ्नो दायित्व भएको भन्दै, सरकार र निजी क्षेत्र परस्पर सहयोगी भएर अघि बढ्नुपर्नेमा जोड दिए।