२३ कात्तिक, काठमाडौं । चितवन सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा डा। तोसिमा कार्कीले पार्टी सुधारका लागि चार बुँदे मार्गचित्र प्रस्तुत गरेकी छन्। उनले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ भन्दै २०८२ मंसिरभित्र सम्पन्न गर्नुपर्ने र त्यसले संगठन विस्तार, वैचारिक स्पष्टता र चुनावी तयारीमा नयाँ ऊर्जा थप्ने बताइन्।
कार्कीले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी र सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने, समितिमा जेनजी, वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव दिइन्।
साथै, विचार मिल्ने दलसँग घण्टी चुनाव चिह्न साझा गरेर एकता प्रक्रिया अघि बढाउनुपर्ने र ठूला–साना सबै दललाई उदारतापूर्वक स्वागत गर्नुपर्ने उनको प्रस्ताव थियो। चौथो बुँदामा उनले पार्टीलाई मध्यमार्गी राजनीतिक शक्ति बनाएर नयाँ वैचारिक ध्रुवीकरणको नेतृत्व गर्नुपर्ने जोड दिइन् र वर्तमान वाम–दक्षिण ध्रुवीकरणले देशलाई प्रभावकारी दिशा दिन नसकेको उल्लेख गरिन्।
कार्कीले बैठकलाई केवल औपचारिकता नभई वैचारिक र संगठनात्मक रिफर्मेसनको निर्णायक थलो बनाउनुपर्नेमा जोड दिइन् र मार्गचित्र कार्यान्वयन भए पार्टी समावेशी, जिम्मेवार र नागरिक केन्द्रित बन्न सक्षम हुने बताइन्।





