समाचार

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा, ३० लाखमा हल तयारी सुरु

२३ कात्तिक, काठमाडौं । लामो समयदेखि हल अभावका कारण स्थगित रहेको राष्ट्रिय सभाको बैठक अब सिंहदरबारमा बस्ने तयारी भएको छ। करिब ३० लाख रुपैयाँ लागतमा हल व्यवस्थापनको काम सुरु भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिएका छन्।

दाहालका अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई मर्मत र आवश्यक व्यवस्था गरेर बैठक स्थलका रूपमा तयारी गर्न लागिएको हो। “आन्तरिक तयारी तीव्र रूपमा भइरहेको छ, हल व्यवस्थापनका लागि करिब ३० लाखको अनुमान गरिएको छ,” उनले विधायन व्यवस्थापन समितिको बैठकमा भने।

हल तयारी भएपछि अधिवेशन बोलाउने विषयमा छलफल अघि बढेको उनले बताए। मंसिर दोस्रो साता अधिवेशन बोलाउने तयारी भइरहेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री सुशीला कार्की यस विषयमा सकारात्मक रहेको जानकारी दिए।

यसअघि बैठक बस्न हल नपाएर राष्ट्रिय सभाका गतिविधि प्रभावित भएका थिए। नयाँ व्यवस्थापनपछि अब अधिवेशन सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।