समाचार

निर्धारित समयमा निर्वाचनको मागसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

२५ कात्तिक, काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित आज नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

युनियनको गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरूको ज्ञापनपत्र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष बुझाएको हो ।

ज्ञापनपत्रमा मूलतः महासङ्घ फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांगे्रसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई कार्यस्थलबाट नै निर्वाचनको व्यवस्था गर्नुपर्ने, जेनजी आन्दोलनपश्चात्को उद्योग कलकारखाना, पर्यटन क्षेत्रका प्रतिष्ठानहरूमा देखिएको समस्यालाई सरकारले तथा राजनीतिक दलहरूले गम्भीरताका साथ लिनुपर्ने लगायतका १३ बुँदे निर्णित बुँदाहरू रहेका छन् ।

युनियनका अध्यक्ष योगेन्द्र कुँवरले कार्यवाहक सभापति खड्कालाई युनियनका माग कार्यान्वयनका लागि ध्याकर्षण गराएको बताए । उनले उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको र पुँजी पलायन हुने खतरा बढेकामा चिन्ता व्यक्ति गरे ।

अध्यक्ष कुँवरले कांगे्रसभन्दा जेठो संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनमा कांगे्रसको चार लाख सदस्य सङ्ख्या रहेको छ भने विभिन्न पेसाकर्मीहरू रहेको २७ वटा श्रमिक सङ्गठन महासङ्घको सदस्य रहेको पनि प्रस्ट पारे ।