प्रदेश 2

विवाहपञ्चमी आज: जनकपुरधाममा राम–सीताको दिव्य विवाह महोत्सव

९ मंसिर, जनकपुरधाम । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र जानकी सीताको दिव्य विवाह सम्पन्न भएको स्मृतिमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ । मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा आज विशेष धार्मिक विधिसहित महान् विवाह महोत्सव भव्य रूपमा हुँदैछ।

जनकपुरधामको ऐतिहासिक १२ बिघा क्षेत्रमै पर्ने रङ्गभूमि मैदानमा राम–सीताको स्वयंवर र विवाह संस्कार पुनःअभिनय गरिने तयारी पूरा भएको छ। बिहानैदेखि रङ्गभूमि क्षेत्रमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। राम र सीताको डोला परिक्रमा, विशेष झाँकी र बाजागाजासहितको शोभायात्राले महोत्सव झनै रंगीन बनेको छ।

महोत्तरीका विभिन्न गाउँ भिठ्ठामोर, मटिहानी, सम्सी, गौशाला, बलवा, लोहारपट्टी, बर्दिबासदेखि जनकपुर जाने सार्वजनिक बसहरू यात्रुले भरिएका छन्। प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने साधु–सन्तको विशेष जन्तीसमेत यस वर्ष जनकपुर आइपुगेपछि वातावरण अझै उत्सवमय बनेको छ।

पौराणिक कथनअनुसार जनक राजा द्वारा आयोजित स्वयंवरमा रामले शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन उनीहरूको विवाह सम्पन्न भएको थियो। यही घटनालाई आधार बनाएर मिथिलावासीले आज पनि सीतालाई छोरीझैँ सम्मान गर्दै विशेष विधि र परम्परासहित महोत्सव मनाउँदै आएका छन्।

विवाहपञ्चमीका क्रममा मटकोर, तिलकोत्सव, स्वयंवरदेखि वैवाहिक संस्कारसम्म मिथिलाको मौलिक प्रथाअनुसार गरिन्छ। राम मन्दिर र जानकी मन्दिरबाट अलग–अलग रूपमा सजाइएको डोला निकालेर रङ्गभूमिमा लैजाने परम्पराले जनकपुर एकैचोटि आध्यात्मिक उत्सवको केन्द्र बन्छ।

वार–बधुपक्षबीच हुने रमाइलो संवाद, गाउँ–गाउँबाट आएका झाँकी, लाखौँ भक्तजनको उत्साह र सहभागिताले आजको रङ्गभूमि वास्तविक राम–सीताको विवाहस्थलझैँ चम्किएको छ।

भक्तजन बिहानै पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना, भजनकीर्तन, रामलीला र प्रवचनमा सहभागी भइरहेका छन्। दिव्य विवाह महोत्सवमा सहभागी भए मोक्ष तथा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वासले आज जनकपुरधाम श्रद्धा, संस्कृति र आस्थाको अनन्त रौनकमा डुबेको छ।