समाचार

कान्ति राजमार्ग मंसिर २० देखि ६० दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

१८ मङ्सिर, काठमाडौँ । ललितपुरस्थित कान्ति राजमार्ग ६० दिनका लागि बन्द हुने भएको छ। सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढाउन मंसिर २० गतेदेखि दैनिक केही घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो।

कान्ति राजमार्ग सडक आयोजना ललितपुरका सूचना अधिकारी तथा इन्जिनियर उपेन्द्र महरानाका अनुसार भित्ता काट्ने र संरचना स्तरोन्नतिको जिम्मेवारीसहितको प्रमुख काम सुरु भएकाले सवारी आवागमन रोक्नु आवश्यक भएको हो।

उनका अनुसार मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मार्ग पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा राजमार्ग हुँदै हुने सवारी सञ्चालन रोकिँदा यात्रु तथा चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय ललितपुरलेपनि सूचना जारी गर्दै कामको सुविधा र सुरक्षा सुनिश्चित गर्नुपर्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।