समाचार

राष्ट्रियसभा निर्वाचन : पहिलो स्थानमा एमाले, मतपत्रको अन्तिममा श्रम संस्कृति पार्टी

१९ मंसिर, काठमाडौँ । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि १३ राजनीतिक दललाई निर्वाचन आयोगले दर्ता स्वीकृत गर्दै उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगले प्राप्त निवेदनका आधारमा सबै दलको क्रम निर्धारण समेत गरेको छ।

मतपत्रमा पहिलोदेखि पाँचौं क्रमसम्म नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपा रहनेछन्। त्यसपछि जनमत पार्टी, लोसपा–नेपाल, नेमकिपा, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेस लोकतान्त्रिक पार्टीको स्थान तोकिएको छ। नयाँ दर्ता भएका नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको चिह्न अन्तिममा रहनेछ।

आगामी फागुन २० गते १९ सदस्यको कार्यकाल सकिँदैछ, जसमा १८ जनाका लागि चुनाव हुँदैछ। प्रदेशगत कोटामा कोशीबाट ३, मधेशबाट ४, बागमती–गण्डकीबाट २/२, लुम्बिनीबाट ३ र कर्णाली–सुदूरपश्चिमबाट २/२ सिट रहनेछन्।

आयोगका अनुसार दलहरूको क्रम निर्धारण २०७९ को प्रतिनिधि सभा समानुपातिक मतको आधारमा गरिएको हो।