१९ मंसिर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीका ग्याजेटहरू बरामद गर्दै डिजिटल फरेन्सिक अनुसन्धान शुरु गरेको छ। बुधबार बिहान आयोगको टोली उनको घरमै पुगेर तपासीका क्रममा मोबाइल, ल्यापटप लगायत शंकास्पद उपकरण नियन्त्रणमा लिएको हो।
अधिकारीको गतिविधि र सम्भावित ‘शंकास्पद कारोबार’माथि केही समयदेखि निगरानी भइरहेको अख्तियार स्रोतले जनाएको छ। उपकरण बुझाउन उनले केही विरामी गराउने प्रयास गरे पनि प्रहरीले तत्काल कब्जा लिएको बताइएको छ।
बरामद सबै सामग्री अहिले अख्तियारको डिजिटल फरेन्सिक ल्याबमा जाँच भइरहेको छ। बुधबार नै अधिकारीलाई मुद्दासहित विशेष अदालतमा पेस गरिए पनि ‘समय अभाव’ कारण अदालतले उनलाई पुनः अख्तियारको जिम्मामा राखेको थियो।
अधिकारीसँगै प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको बयान पनि विशेष अदालतमा चलिरहेको छ। नलिञ्चोक हेलिपोर्ट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्टाचार प्रकरणदेखि सिनामंगलस्थित प्राधिकरण भवन निर्माण र बैंक कारोबारसम्म सबै विषयमा छानबिन जारी छ।
अख्तियारका अनुसार अधिकारीले विभिन्न व्यक्तिलाई पैसा बाँडेका र अनुसन्धान कमजोर पार्न शक्तिकेन्द्र तथा बिचौलिया सक्रिय पारेको सूचनाअनुसार आवश्यक प्रमाण खोजी भइरहेको छ।





