प्रदेश 2

मधेश प्रदेशका नयाँ मुख्यमन्त्री यादवले लिए शपथ

२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन्। अब उनले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, पूर्व माओवादी केन्द्र, लोसपा र पूर्व एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।

यसअघि धारा १६८(३) अनुसार ठूलो दलको दाबी गर्दै एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत नपाएपछि उनले मंसिर १७ गते पद त्याग गरे, जसपछि सरकारको नेतृत्व कांग्रेसतर्फ सरेको हो।

एमालेका यादवलाई नियुक्त गर्ने निर्णयविरुद्ध गठबन्धन दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।

शपथपछि नयाँ मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रीमण्डल घोषणा गर्ने तयारीसमेत गरेका छन्।