३० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएको विभाजन र आरोप–प्रत्यारोपको राजनीतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शुभेच्छुक, शुभचिन्तक र साथीहरूको चासो तथा चिन्तालाई सम्मान गर्ने बताएका छन्। तर उनले सबैलाई एउटै रेलमा सँगै अघि बढ्ने चाहना हुँदाहुँदै पनि “यात्रु बोलाउँदै–बोलाउँदै रेल हिँडिसकेको” टिप्पणी गरेका छन्।
भण्डारीले यसरी अघि बढिरहे दुवै पक्षका रेल यात्रुविहीन हुन सक्ने चेतावनी दिँदै त्यसपछि मात्र ‘सँगै हिँडौँ’ भन्ने भावनाको वास्तविक अर्थ बुझिने बताएका छन्।
उनले आफ्नो राजनीति व्यक्तिगत स्वार्थ वा लाभका लागि नभई सत्य र जिम्मेवारीबाट निर्देशित रहेको दाबी गरेका छन्। विगतमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको कठिन समन्वयमा आफूले भूमिका खेलेको स्मरण गर्दै उनले त्यसबेला कुनै नकारात्मक भावना नराखेको उल्लेख गरेका छन्।
तर अहिले चारैतिर विकृति मात्र देखिएको भन्दै उनले नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशामाथि नै प्रश्न उठाएका छन्। सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गएको भन्ने प्रश्नसमेत उनले गरेका छन्।
निर्वाचनको मुखमा पार्टीभित्र देखिएको विवादलाई उनले “यदुवंशी विनाश”को संज्ञा दिँदै यस्तो प्रवृत्तिले न पार्टी बलियो हुने न मुलुक र लोकतन्त्र सुरक्षित रहने बताएका छन्।
अन्त्यमा उनले सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै भनेका छन्- “विवेकमा फर्कौं, विनाश होइन निर्माण रोजौं। दोषी हामी सबै छौं।”





