१८ वैशाख, काठमाडौं । पाँच वर्षअघि नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा पक्राउ परेका सरकारी कर्मचारी दिवाकर देउजा पुनः ई–बिडिङ ह्याक प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउजालाई भोटहिटीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। यसअघि २०७७ सालमा टेलिकमको सर्भरमा अनधिकृत पहुँच पुर्याएर सेवा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका देउजा हाल सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणाली (ई–बिडिङ) मा ह्याकिङ गरी ठेक्का प्रक्रियामा हेरफेर गर्ने समूहसँग जोडिएको खुलेको हो।
अनुसन्धानका क्रममा देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी प्रतिस्पर्धी कम्पनीहरूको विवरण हेर्ने र आफ्ना पक्षका कम्पनीको प्रस्तावलाई न्यूनतम मूल्यमा परिमार्जन गर्ने गरेको पाइएको छ। यसरी ठेक्का हात पार्न विभिन्न निर्माण व्यवसायीसँग सम्पर्क गरी आर्थिक लेनदेनसमेत हुने गरेको सीआईबी स्रोतले जनाएको छ।
यो प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन्, जसमा १० जना निर्माण व्यवसायीसमेत रहेका छन्। पक्राउ पर्नेहरूमा विभिन्न निर्माण कम्पनीका सञ्चालक तथा सम्बद्ध व्यक्तिहरू रहेका छन्।
प्रहरीका अनुसार, सार्वजनिक खरिद प्रणालीमा लामो समयदेखि संगठित रूपमा ह्याकिङ गरी ठेक्का हेरफेर गर्ने गतिविधि भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस घटनाको अनुसन्धान साइबर ब्युरोबाट सीआईबीले आफ्नो जिम्मामा लिएर अघि बढाएको हो।
यसअघि देउजा शहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिए। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइएपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। अहिले पुनः समान प्रकृतिको अपराधमा संलग्न देखिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





