शिक्षा

एसईईमा सबैभन्दा धेरै विद्यार्थी नन् ग्रेडेड मधेशमा

२८ वैशाख, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी मधेश प्रदेश मा नन् ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी अवर्गीकृत भएका हुन् ।

मधेश प्रदेशबाट यस वर्ष ७६ हजार ३१७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

प्रदेशगत तथ्यांक अनुसार कोशी प्रदेश मा २१ हजार ३६६, बागमती प्रदेश मा २१ हजार ७०४, गण्डकी प्रदेश मा ९ हजार ९४३ विद्यार्थी नन् ग्रेडेड भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश मा २७ हजार ८९३, कर्णाली प्रदेश मा १३ हजार २४१ तथा सुदूरपश्चिम प्रदेश मा २० हजार ६३५ विद्यार्थी अवर्गीकृत भएका छन् ।

यस वर्ष नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थীমध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन् ग्रेडेड भएका परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अवर्गीकृत भएका विद्यार्थीका लागि पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिनेछ ।

प्रदेशगत रूपमा वर्गीकृत विद्यार्थी संख्या भने बागमती प्रदेशमा सबैभन्दा धेरै रहेको छ । बागमतीमा ७७ हजार ११३ विद्यार्थी वर्गीकृत हुँदा कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, लुम्बिनीमा ४४ हजार २५६, गण्डकीमा २६ हजार ५५०, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी वर्गीकृत भएका छन् ।