समाचार

डोल्पाको भीषण जिप दुर्घटना, एकको ज्यान गयो, १३ घाइते

२१ असार, डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।

प्रहरीका अनुसार माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप दिउँसो करिब १:५० बजे अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिपमा चालकसहित १४ जना सवार रहेको र चालकसहित अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।

उद्धारका लागि जुम्लास्थित चन्दननाथ नगरपालिकाको एम्बुलेन्ससमेत घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रहरीले घाइतेहरूको पहिचान तथा दुर्घटनाबारे थप विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ।