आर्थिक

नेप्सेमा अचानक गिरावट, कुन कारणले घट्यो १९ अंक ?

२५ असार, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अङ्कले ओरालो लागेर चार सय ५४ दशमलव १९ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव २१ अङ्कले घटेर एक सय ७८ दशमलव ६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९२ अङ्कले घटेर एक सय ५३ दशमलव ६७ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर रु चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूह घटेका छन् ।

आज ४२ कम्पनीको शेयर मूल्य बढ्यो भने दुई सय २९ कम्पनीको शेयर घटेको छ । नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।