समाचार

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

२५ असार, काठमाडौँ । नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नेपाल बाल सङ्गठनकी तत्कालिन योजना तथा छात्रावृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल सङ्गठन ललितपुरका तत्कालिन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल सङ्गठन काठमाडौँका तत्कालिन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले नेपाल बाल सङ्गठन र बाल मन्दिरको सम्पत्ति हिनामिना तथा आर्थिक अनियमितता सम्बन्धमा उच्च स्तरीय जाँचबुझ आयोगले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । –––