२६ असार, काठमाडौं । गणेश नेपालीको आत्मदाह प्रयासको घटनालाई लिएर उठिरहेका प्रश्नबीच गृहमन्त्री सुधन गुरुङले संघीय सरकारले स्थानीय सरकारको नियमअनुसार मात्रै काम गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उक्त घटनाका लागि संघीय सरकारलाई दोष दिन खोजिएको भन्दै त्यसप्रति असहमति जनाए। उनले घटना भएको स्थानमा रहेको स्थानीय सरकार कुन दलको नेतृत्वमा रहेको थियो भन्ने प्रश्नसमेत उठाए।
संसद्मा केहीबेर भावुक देखिएका गृहमन्त्री गुरुङले नेपालमा तीन तहको सरकार रहेको स्मरण गराउँदै हरेक तहको आफ्नो-आफ्नै अधिकार र जिम्मेवारी हुने बताए। उनले स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने विषयलाई संघीय सरकारसँग जोडेर आलोचना गर्नु उचित नहुने धारणा राखे।
‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सम्झाउन चाहन्छु। हाम्रो तीन तहको सरकार छ,’ भन्दै उनले कानुन कार्यान्वयन र स्थानीय व्यवस्थापनका विषयमा स्थानीय सरकारको भूमिकालाई पनि ध्यान दिनुपर्ने बताए।
गणेश नेपालीको आत्मदाह प्रयासको घटनापछि संसद्मा सरकारको भूमिकाबारे पक्ष–विपक्षबीच तीव्र बहस भइरहेको छ।





